श्रमिकको प्रतिनिधित्वको माग गर्दै राष्ट्रियसभामा सभापति देउवालाई ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी ज्ञापनपत्र बुझाएको छ ।

आइतबार पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले माग गरेको हो । युनियनको पदाधिकारी बैकठले नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम सिफारिस गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिए ।

पार्टीले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवी भएका ट्रेड युनियनलगायत पेसागत सङ्गठन र बौद्धिक व्यक्तिबाट उम्मेदवार छनोट गर्न नेपाल ट्रेड युनियन कांग्रेसले सभापति देउवाको ध्यानाकर्षण गरेको छ । भेटमा सभापति देउवाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेदवार छनोट गर्ने बताएका थिए ।