काठमाडामैं । नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा मुस्लिम गोठालाहरू र ईसाई कृषक समुदायबीच भएको झडपमा एकै दिनमा ५५ जनाको मृत्यु भएको छ । समुदायका नेताहरू र रेडक्रसको बिहीबारको रिपोर्टअनुसार नयाँ हिंसा भएको एकै दिनमा त्यत्ति धेरै मानिस मारिएका हुन् ।
समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा मङ्गलबार २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजा स्थल र घरहरू जलाइयो र लुटपाट गरियो ।
अधिकांश ईसाई रहेको जातीय म्वाघवुल मानिसहरूको सङ्गठन म्वाघवुल विकास सङ्घले फुलानी मुस्लिम गोठालाहरूमाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ । “अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छाडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै गर्न सक्छन्”, सङ्घले भनेको छ ।
मङ्गू टाउन सेन्टर नजिकै र वरपर धेरै आक्रमण भएको छ । मुस्लिम समुदायको सङ्गठन जमाअतु नसरिल इस्लाम ९जेएनआई० को स्थानीय च्याप्टरका अध्यक्ष जाफरु मुसाले थप २५ जना मारिएको सूचना दिएका थिए । “हाम्रा धेरै मानिस मारिएका छन्, हामीले २५ शव फेला पारेका छौँ, शवहरू यहाँ मस्जिदमा हामीसँग छन्”, उनले भने ।
पठार राज्यका जेएनआई सचिव सलिम मुसाले पनि भने “अहिलेसम्म २५ मुसलमान मारिएको पुष्टि भएको छ ।” नाइजेरियाली रेडक्रसको रिपोर्टमा आक्रमणमा कूल ५५ को मृत्यु र एक सयभन्दा धेरै घाइते भएको उल्लेख छ । प्रहरी र सेनाले हालै भएका झडपहरूमा भएको मृत्युको पुष्टिका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएका छैनन् ।
नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले विस्थापितहरूका लागि मङ्गू सहरमा करिब एक हजार पाँच सय मानिसका लागि दुई वटा शिविर स्थापना गरिएको जानकारी दिए।
पठारका गभर्नरले थप अर्को झडपपछि मङ्गलबार कर्फ्यु घोषणा गरेका थिए । अधिकारीहरूले आफ्ना गाईवस्तु लैजाने एक गोठाला र सडक प्रयोग गर्ने बासिन्दाहरूबीचको विवादका कारण झडप भएको बताएका छन् ।
नाइजेरियाका अधिकांश मुस्लिम उत्तर र मुख्यरूपमा ईसाईहरू दक्षिणको बीच विभाजन रेखामा रहेको पठार अन्तरसाम्प्रदायिक हिंसाको केन्द्र हो । यद्यपि क्रिसमसका क्रममा अधिकांश ईसाई गाउँहरूमा भएको आक्रमणमा करिब दुई सय मानिसको मृत्यु भएपछि तनाव बढेको छ ।
नाइजेरियाको उत्तरपश्चिम तथा उत्तर मध्य राज्यहरूमा झडपहरूको मुख्य कारण घुमन्ते गोठालाहरू र गाउँका किसानबीच जग्गालाई लिएर सामुदायिक तनावले भएको हो । यद्यपि जस्तालाई त्यस्तै भन्दै गरिने प्रतिशोधपूर्ण आक्रमण व्यापक आपराधिकतामा परिवर्तन भएको छ ।
स्थानीयरूपमा डाकुहरू भनेर चिनिने भारी हतियारयुक्त गिरोहले विशेषरूपमा उत्तरपश्चिमी राज्यहरूमा गाउँमाथि धावा बोल्दै लुटपाट गर्छन् र फिरौतीका लागि अपहरण गर्छन् । त्यस्ता आक्रमणबाट स्वयंलाई बचाउनका लागि ग्रामीण बासिन्दाहरू प्राय आत्मरक्षा सतर्क समूह बनाउँछन् । एएफपी
Add Comment