आज विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौं। आज ६९ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ।
सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरी पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन्। कुष्ठरोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ।
कुष्ठरोग वंशाणुगत रोग भने होइन। तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरूमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने चिकित्सकहरू बताउँछन्। यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपाङ्ग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ।