ग्रामिण दुरसञ्चार विकास कोषको रकममा चलखेल

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण यतिखेर प्रविधि विस्तारमा नाममा आर्थिक चलखेल गर्ने अड्डाकारुपमा विकसित हुँदै गईरहेको छ ।
दूरसञ्चार प्राधिकरणले यतिखेर ग्रामिण दूरसञ्चार प्राधिकरण कोषको परिचालन गरी ग्रामिण क्षेत्रमा ब्रोडब्राण्ड नेटवर्क एक्सिस तथा सूचना महामार्ग निर्माण भन्दै विभिन्न परियोजनाहरु सञ्चालन गरेको छ ।

तीनै परियोजनाहरुको माध्यमबाट दुरसञ्चार विकासका नाममा आर्थिक चलखेल गर्ने काममा प्राधिकरणका पदाधिकारीहरु सल्बलाईरहेका छन् ।

यस अघि पनि सरकारी विद्यालयहरुलाई प्रविधि मैत्री बनाउने भन्दै कम्प्यूटर खरिद प्रक्रियामा करोडौंको आर्थिक चलखेल भएको भन्दै प्राधिकरणका पदाधिकारीहरुको चर्को विरोध भएको थियो । अहिले ग्रामिण दुरसञ्चार विकास कोषको रकम परियोजनाका नाममा ठेकेदार कम्पनीहरुसँगको मिलमतोमा चलखेल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि अध्यक्ष पुरुषोत्तम खनाल लगायत वरिष्ठ निर्देशक, निर्देशकहरु मन्त्रालयमा प्रगतिको फाइल बुझाउनमा नै व्यस्त देखिएका छन् ।

तर मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई भने प्राधिकरण भित्रको आर्थिक अनियमिततालाई कडासँग अनुगमन गर्न निर्देशन दिएको मन्त्रालय श्रोतले बताएका छ । यही कारण पनि दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई अध्यक्ष पदबाट हटाउने तयारी समेत गरिएको छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गलाई समेत चर्को राजनीतिक दवाव परेको बुझिएको छ ।