प्रधानाध्यापक नै ठगी आरोपमा पक्राउ

काठमाडौं । प्रधानाध्यापक ठगीको आरोपमा पक्राउ परे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर लाहानको एक विद्यालयका प्रधानाध्यपकलाई भने ठगीका आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिराहा जिल्ला स्थित रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशन कुमार यादवले उच्च अदालत जनकुर अन्तर्गतको राजविराज इजलायसमा दायर गरेको मुद्दाको सुनवाइको आधारमा माघ २२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्रअ कर्णलाई पक्राउ गरिएको हो । पक्राउपछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद समेत थप गराएको छ । पक्राउ परेका कर्णलाई प्रहरीले अनुसन्धान जारी राखेको छ ।

चन्द्र नमुना माध्यमिक विद्यालयको निर्माण कार्यको लागि सिराहा बजारमा रहेको जनरल सप्लायर्सबाट पटक पटक सिमेन्ट, छड, तार रङ्ग तथा निर्माण उपयोगी सामानहरू लगिएको थियो । पसल सञ्चालक रोशन कुमार यादवले १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल बुझाउँदा आलटाल गरेपछि अदालतमा मुद्दा दायर गरेका थिए । भुक्तानीको लागि विद्यालयमा २०७४ सालदेखि वर्षौँ धाए कुनै सुनवाइ नभएपछि अदालतको सहारा लिनु पर्यो ।

काठमाडौँ उपत्यका बाहिर पहिलो विद्यालय स्थापित भएको चन्द्र नमुना माध्यमिक विद्यालय तत्कालिन चन्द्र शमशेरको नाउँबाट नामकरण भएको विद्यालय सिराहा सदरमुकाम जिल्ला अदालतसँग जोडिएको छ ।