महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ ।
उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन् ।

महानगरपालिकाले कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो ।

‘उत्पादन भएकै ठाउँमा फोहोर छुट्ट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजना बमोजिम बिन राख्न लागिएको हो,’ वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ ।’

महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेको उनले सुनाए ।

‘फोहोर वर्गीकरण गर्न घरदैलो कार्यक्रम मार्फत सचेत गराउदैछौं । छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ र संकेत सहितको सवारीसाधन तयार गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौं ।’

यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हुन्छ । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १।२ मिटर उचाइ, १।२३ मिटर चौडाइ र २५।५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् ।

यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १ सय ५० रुपैयाँ र डस्टबिन प्रतिसेट २ हजार ९ सय ५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १।३ मिटर चौडाइ र १।४ मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १ सय २५ लिटर क्षमताका दुइटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४ सय ५० रुपैयाँ र बिनको ३ हजार ८ सय ९० रुपैयाँ हो ।

विभागका अनुसार यो मूल्य करबाहेक हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् ।