बामदेव पथमा मनाङ्गे

पोखरा । मनाङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपाका प्रमुख दुई समूहभन्दा भिन्न वामदेव गौतमको अभियानमा सामेल भएका छन् ।

गौतम अहिले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं माधव नेपाल नेतृत्वको कुनै पनि नेकपामा नलागी एकता अभियानमा छन् । स्वतन्त्र रुपमा निर्वाचित भई नेकपा प्रवेश गरेका मनाङेले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन् । गौतम आफैंले फोन गरेर पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेको मनाङेले बताएका हुन् । ‘नेताजी वामदेवले फोन गर्नुभयो र पार्टी एकताको राष्ट्रिय अभियानमा जोडिन आग्रह गर्नुभयो,’ सांसद मनाङेले भने, मलाई पनि नेताजीको यो कुरा साह्रै चित्त बुझ्यो । हुन्छ भनिदिएँ ।’

पार्टी विभाजनले कसैलाई फाइदा नगर्ने मनाङेको भनाइ छ । त्यसैले पार्टी एक बनाउन प्रयास गर्दैछु,’ उनले भने । नेता नीतिका लागि भन्दा पनि स्वार्थका लागि फुटेको पनि मनाङेले बताए । स्वार्थ त्यागेर देश निर्माणमा लाग्न दबाब दिने योजना उनको छ । ‘हेर्नुस न, कुर्सीको बाहेक अरु केही झगडा हो र उहाँहरुको उनले भने, यस्तो सानो कुरामा पार्र्टी फुटाउनु हुन्न के ।’ सांसद मनाङे पोहोर असार ११ गते नेकपा प्रवेश गरेका थिए । तर उनी पार्टी प्रवेश गरेको लिखित जानकारी अहिलेसम्म नेकपाले प्रदेश सभा सचिवालयलाई गराएको छैन । सांसद मनाङे नेकपा संसदीय दलको बैठकमा सहभागी हुँदै आएका थिए । प्रदेश सभामा पनि उनी सत्तापक्षकै दीर्घामा बस्थे ।

सांसदको पारिश्रमिकबाट उनको लेभी नेकपाको खातामा जाँदै आएको छ ।