पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरूपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिए । उनले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै सङ्घर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र जीवनस्तररअवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताए ।

‘‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र जीवनस्तररअवस्था बदल्न महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ । यसका लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व, र जनताको जीवन रूपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको छ ।’’

मन्त्री शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व र जनताको जीवन रूपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको बताए । सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानबिनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उनले उल्लेख गरे ।

‘‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरेको एकवर्षको बिचमा सेवा प्रवाहलाई सरल, कम खर्चिलो बनाइएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसार लगायतका भ्रष्टाचारको छानबिनलाई सहयोग गर्न सरकार दृढतापूर्वक उभिएको छ । यसको नतिजा पनि प्राप्त हुने क्रममा रहेको छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अहिलेका हाम्रा सरकारका स्वामित्वमा रहेका सञ्चार माध्यमहरू हिजोका निरङ्कुश सरकारका पालामा रहेका सञ्चार माध्यमजस्ता होइनन् । अहिलेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनसमक्ष पुर्‍याउने, जनताका आशा, अपेक्षा, गुनासालाई कलात्मक ढङ्गले सरकारको समक्ष पुर्‍याउने र त्यो कुरालाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण गर्ने काम पनि सरकारी मिडियाहरूले गर्नुपर्छ ।’’

मन्त्री शर्माले सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्‍याउने र जनताको आशा, अपेक्षा र गुनासाहरूलाई सरकार समक्ष पुर्‍याउने कामका लागि सहजीकरण गर्नुपर्ने बताए । उनले अहिलेका सरकारी सञ्चार माध्यमहरू विगतका निरङ्कुश सरकारको पालामा रहेका जस्तो नभएको बताए।