टीकापुर। बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ ।
अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ ।
समय बदलिँदो छ । समयसँगै हरेक कुरा बदलिँदै जान्छन् । यसरी समयसँगै हरेक कुरा बदलिँदै जानु स्वाभाविक हो तर मानिसमा आएको यो अस्वाभाविक बदलावलाई बुढापाकाहरु अचम्म ठान्न थालेका छन् ।
मानिसमा नैतिकता र अनुशासनगायत धेरै कुराले ठाउँ नै छोडिसकेको कैलालीका देवीराम जैसी बताउछन् । “अहिलेका बालबालिकामध्ये निकै कममा मात्र अनुशासन देखिन्छ । कतिपय बालबालिका चोरी, डकैती, र आपराधिक गतिविधिमा संलग्न भएका देखिन्छ”, उनि भन्छन्, ‘‘हाम्रा पालामा हामी अभिभावको निगरानी र नियन्त्रणमा हुन्थ्यौँ, अभिभावकले भनेको सबै मान्थ्यौँ तर अहिलेका बच्चा उग्र देखिन्छन् ।”
ब्राह्मण समाज नेपाल टीकापुर शाखाका अध्यक्ष रामप्रसाद रिमाल उपाध्याय पनि आपू युवा र वयस्क हुँदा समाज, आफन्त नैतिकताका विषयमा निकै संवेदनशील रहेको सम्झनछन् । “ठूलाबडाप्रति बढो आदर र सम्मान गरिन्थ्यो”, उनि भन्छन्, “तर आजभोलिका युवाले यस्ता संस्कार, संस्कृति र आदर सबै कुरा बिर्सिएजस्तो लाग्छ । बालबालिकामा संस्कार नभए समाज कस्तो होला चिन्ता लाग्न थालेको छ ।”
अध्यक्ष रिमाल बालबालिकाको जीवन सुन्दर बनाउने प्रयासमा सबै लाग्नुपर्नेमा जोड दिनछन्। “मानवीय चोला भनेको एक पटक पाउने चोला हो । मानिसले धर्तीमा रहँदासम्म राम्रो गर्नु, सबैको भलो गर्न र एउटा मानवले गर्नुपर्ने सबै खालका कर्म गर्नुपर्छ”, उनि भनछन्, “आफ्नो धर्म, नैतिकता, आचरण र व्यवहार सबैभन्दा स्वयं नै व्यक्तिखुसी हुनका लागि चाहिन्छ । संस्कारी मानिसले अरूलाई पनि खुसीसँग जिउन दिन्छ, त्यसैले अहिलेका बच्चाका अस्वाभाविक व्यवहार देख्दा चिन्ता लाग्छ ।’’
पूर्वशिक्षक बलबहादुर रावलको पनि अहिलेका युवाप्रति त्यस्तै गुनासो छ । आफू युवा हुदा समाजप्रति निकै जिम्मेवार रहेको बताउने उनि अहिलेका युवाले परिवर्तनका नाममा विकृत व्यवहार अँगाल्दै गएको उल्लेख गर्छन् ।
“बालबालिका गलत बाटो अँगालेका देख्दा मन पोल्छ । विकृति जति सबै किशोरावस्थाबाटै अँगाल्दै आएको देखिन्छन्”, उनि भन्छन्, “यस्ता व्यवहार न्यूनीकरण गर्न सरोकारवाला सबैको दायित्व हुन्छ । अब छोराछोरी राम्रा बनाउन जसले सक्छ त्यही मानिस भोलि सम्पन्न र खुसी हुनेछ ।”
पूर्वशिक्षक रावल अभिभावकले बालबालिकालाई खेलका माध्यमबाट होस् या यस्तै सृजनात्मक क्रियाकलापमा व्यस्त बनाइराख्न जरुरी रहेको बताउछन् ।
अहिलेका युवा पिँढी देखेर सावित्रा रावल पनि अचम्मित छन् । उनि अहिलेका युवायुवतीको आचरण र व्यवहार देखेर निकै चिन्तित छन् । “हाम्रा पालामा पढाइबाहेक घाँस दाउरा काट्ने, गाईवस्तु चराउने र बुबाआमाले भनेकोबाहेक अन्य कुनै पनि काम गर्न आँट आउँदैनथ्यो”, उनि भन्छन् “अहिलेका युवाको
व्यवहार र बानी देखेर डर लाग्छ । उनीहरू गलत क्रियाकलापमा संलग्न भएर आपराधिक कार्य गरिरहेका देखिन्छन् । बालबालिकालाई अभिभावकले नियन्त्रण गर्न सकेका छैनन् ।’’ समय सधैँ स्थिर रहँदैन । समयसँगै आपूलाई परिवर्तन गर्नु स्वाभाविक हो तर परिवर्तनका नाममा संस्कार, संस्कृति, आचरण नैतिकता र अनुशासनजस्ता कुरा भुल्ने नहुनेमा बुढापाकाको जोड छ ।
Add Comment