त्रिवेणी । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ ।
वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने÷नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए ।
वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ । यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो ।
“विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौँ । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ”, वडाध्यक्ष विकले भने। वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ।
Add Comment