इलाम–२ का लागि पठायो काँग्रेस कोशी प्रदेशले आकांक्षीका नाम

काठमाडौं । नेपाली काँग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो । उनले जिल्ला कार्यसिमितले पठाएको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाइएको जानकारी दिए ।
प्रदेश सिमितले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारीस गरेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारीस गरेको छ ।

सभापति थापाले भने, “काँग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौं । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ ।”

काँग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । जिल्लाले पनि क्षेत्रीय सिमितले पठाएको नाम जस्ताकै त्यस्तै प्रदेशलाई पठाएको सचिव गौतमको भनाइ छ ।

काँग्रेसको क्षेत्रीय कार्यसमितिले गएको मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

“क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं‚” सभापति डिकेन्द्र इदिङ्गोले बताए ।

समितिले तेस्रोबाट क्रमशः जिल्ला सभापति डम्बर खड्का‚ संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरेको उनले जानकारी दिए । यस्तै बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको इदिङ्गोले बताए ।
नेकपा एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएका कारण इलाम क्षेत्र नम्बर २ मा निर्वाचन हुन लागेको हो । काँग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ काँग्रेसको बलियो क्षेत्र मानिन्छ ।

राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ ।