श्रीमान् पक्षधर नेतालाई रञ्जिताले गरिन् पार्टीबाट निष्कासन

काठमाडौं । श्रीमान् श्रीमतीको झगडाले थारु मुक्तिका लागि भन्दै जेलमा रहँदा रेशम चौधरीले स्थापना गर्न लगाएको नागरिक उन्मुक्ति पार्टी भित्र किचलो शुरु भएको छ । किचलो पनि पार्टी केन्द्रीय समितिका पदाधिकारीको नभई श्रीमान् श्रीमतीको वीचको भएकाले लफडै लफडामा उन्मूक्ति पार्टी देखिएको छ । सोही क्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्तिले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासित गरेकी छिन् ।

रञ्जिता श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जनलाई पत्र पठाएर निष्कासित गरेको जानकारी दिएकी हु्न् । संस्थापक सदस्य रमेश विक र टीकापुर नगरपालिकाका मेयरसमेत रहेका रामलाल डंगौरालाई कुटपिट गरेको भन्दै अध्यक्ष रञ्जिताले कारबाही गरेकी हुन्। गुरुङ र योञ्जन रेशम चौधरी पक्षका हुन्। सरकारमा जाने नजाने विषयमा विवाद हुँदा सोमबार पार्टी कार्यालय अनामनगरमा कुटपिट भएको थियो।

संस्थापक सदस्य रमेश विकले पत्रकार सम्मेलन गरेरै रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको बताएका थिए। सुदूरपश्चिम सरकार तलमाथि भए हत्या हुनसक्ने धम्की दिएको उनको भनाइ छ। त्यस्तै रेशमले गुण्डाहरू लगाएर अभद्र व्यवहार गरेको उनले बताए।

यता रेशम चौधरीले वादविवाद भए पनि आफूले त्यस्तो धम्की नदिएको बताए। रञ्जिताले पद लोलुपताका कारण पार्टी बर्बाद पारेको उनको भनाइ छ। रेशमले तीन महिनादेखि खाना खानसमेत नसकेको र आत्महत्या गर्ने परिस्थितिको सिर्जना भएको बताएका थिए। सरकारमा जाने नजाने विषयमा श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। रेशम चौधरीले यस विषयको छिनोफानो गर्न शुक्रबार बैठक बोलाएका छन्।