अर्थमन्त्री पुनले भने नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य भएको बताए । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हन् । उनले अमेरिकी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह समेत गरेका छन् ।

अर्थमन्त्री पुनले अमेरिकी (यूएस) चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताउँदै  निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको जानकारी दिए ।

निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुनसक्ने उनको भनाइ छ ।

मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको बताए ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपससहित प्रतिष्ठित व्यवसायीहरू तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।