सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०ः३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिएका छन् ।

यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा (एमाले)ले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिई सक्नुपर्छ । यसअघि विश्वासको मत लिने तयारी गर्नुभएका सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो ।