गणतन्त्रका लाभ जनतामा पुर्‍याउन लागि परेको प्रधानमन्त्री प्रचण्डको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन दृढतापूर्वक प्रयास गरिरहेको बताएका छन ।
गणतन्त्र दिवसको अवसरमा आज मङ्गलबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सो दृढता सहितको धारणा राखेका हुन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु।’’

उनले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्‍न समयमा भएका राजनीतिक आन्दोलनहरू, जनयुद्ध, २०६२–६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्‍घर्षका महान् शहीदहरूको स्मरण गर्दै समेत गरे ।

गणतन्त्र प्राप्‍तिको आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान गरेको व्यक्त गर्दै दाहालले ‘‘गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा छ। यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणका लागि दिशानिर्देश गरेको छ।’’ प्रधानमन्त्रीको शुभकामनामा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले भनेका छनश, ‘‘नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको छ। त्यसैअनुरूप सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी आफ्नो कार्यसम्पादन गरिरहेको छ।’’

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो भन्दै प्रधानमन्त्रीले हामीमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।