सरकार फेरिएसँगै बेचन झाको परिवार पुग्यो सर्वोच्चमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोगपत्र दायर गर्न अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झाको बयान सकिएको छ । उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको प्रहरी स्रोतको भनाइ छ ।

बेचन झाका तर्फबाट छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । उनीहरूले झालाई तत्काल धरौटीमा वा हाजिर जमानीमा रिहा गर्न माग गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले भने, ‘पहिलो चरणको बयान सकियो । आवश्यकता देखिएमा थप बयान गरिन्छ,’ सङ्गठित अपराध र ठगीमा अनुसन्धान भइरहेकाले समय लाग्छ ।’ सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोही अनुरूप अनुसन्धान अघि बढाएको छ ।