सौर्य एयरलाइन्स दुर्घटना: १८ जनाको मृत्यु, क्याप्टेन शाक्यको उपचार हुँदै

काठमाडौं । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा आज बिहाना करिब ११ बजेर ११ मिनेट जादाँ रनवेबाट दुर्घटना हुँदा जाहाजमा सवार १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । विमानमा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए।

विमानमा रहेका १९ जना सबै सौर्य एअरलाइन्सकै व्यवस्थापक, चालक दल तथा अन्य कर्मचारी रहेका सौर्य एअरलाइन्सले जनाएको छ । क्याप्टेन मनिषरत्न शाक्य एअरलाइन्सका अपरेशन प्रमुखसमेत हुनुहुन्छ । त्यस्तै चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा पनि विमानमा रहेका एअरलाइन्सले जनाएको छ । त्यसैगरी सुशान्त कटुवाल को–पाइलट र बाँकी सबै यात्रु एअरलाइन्सकै कर्मचारी हुन् ।

विमानमा रहेका १९ जनामध्ये एक जना महिला र एक जना विदेशी नागरिक थिए । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवालसहित अमिटमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश महर्जन र श्याम बिन्दुकार थिए । यस्तै विमानमा नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र अरिफ रेड रहेका सौर्य एअरलाइन्सले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नु भएको थियो । उनले दुर्घटनास्थलको निरीक्षण गर्नुभएपछि नागरिक उड्डयन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर आवश्यक व्रिफिङ लिनु भएको थियो । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले दुर्घटनामा निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नु भएको र घाइते क्याप्टेनको स्वास्थ लाभको कामना पनि गर्नु भएको उनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ । उनले दुर्घटनाको विषयमा गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै उनले आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनु भएको छ । घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न पनि उनले आग्रह गरे ।

गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुग्नु भएको हो । पर्यटनमन्त्री पाण्डेले घटनाबारे छानबिन हुने बताए । उनले दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारप्रति संवेदना व्यक्त गरेका छन् । मन्त्री पाण्डेले दुर्घटनामा घाइते भएका पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले दुर्घनामा ज्यान गुमाएकाहरूको परिवारप्रति संवेदना व्यक्त गर्नु भएको छ । घटना दुःखद छ। दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति सरकार दुःख व्यक्त गर्दछ र प्रारम्भिक जानकारी लिएका छौं। छिट्टै छानबिन हुने उनले बताए । विमानस्थल सुरक्षार्थमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको जानकारी दिए ।