निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने : स्वाथ्यमन्त्री पौडेल

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन्।

आज एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री पौडेलले निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन्। उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्था अन्त्य गर्दै सबै अस्पतालमा बिमा सुविधा हुनुपर्ने बताए। त्यसका लागि बिमा बोर्ड शक्तिशाली हुनुपर्ने स्पष्ट पारे।

उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताएका छन्। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको स्वीकारोक्ति छ।

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पताललाई आग्रह गरे। उनले दैनिक के–कति विपन्न नागरिकको उपाचार भयो भन्ने कुरापनि सार्वजनिक गर्न आग्रह गरे। उनले विपन्नलाई कसैको सिफारिसभन्दा पनि नीति बनाएर पारदर्शी ढंगले सेवा दिनुपर्ने समेत बताए।