चोभारको निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पूरा गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन्।

२०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पूरा नभएपछि कृषिमन्त्री अधिकारी आज निरीक्षणका लागि चोभार पुगेका थिए।​

११औ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी हुँदा २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी नै छ। त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्। सम्झौतानुसार काम नसकिए कानुनअनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवनको बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

मन्त्री अधिकारीलेपुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्न तयार रहेको समेत बताए। बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुबै लाभान्वित हुने उनको विश्वास रहेकाले भवन निर्माणमा कुनै पनि बहाना नगर्न समेत आग्रह गरेका छन्।

२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। सम्झौतानुसार काम नभएपछि २०८०चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औँ पटक म्याद थप भएको थियो।

सम्झौता अनुसार काम सम्पन्न गर्न झन्डै एक साता मात्र समय बाँकी छ। तर पूर्व सहमतिअनुसार अझै १३ प्रतिशत काम पूरा हुन सकेको छैन भने समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोडभन्दा बढी पुगेको छ।

लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नहुनेभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका हुन्।