तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउँदै प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन्। आज काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तलब वृद्धि गर्न नसकिने बताए।

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे। उनले अहिले मनलाई दह्रो बनाई कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए। उनले नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए।

प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको समेत बताए।