ओबामाले तेन्जिङबारे फिल्म बनाउने ओलीले हेर्ने ?

काठमाण्डौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने भएका छन् ।

ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । चलचित्र एड डग्लसले सन् २००३ मा लेखेको पुस्तक तेन्जिङः हिरो अफ एभरेस्टको आधारमा बनाइने हायर ग्राउण्ड प्रोडक्सन्सले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन् । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केहि वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ ।
तर नेपालका नेता र नेतृत्ववर्ग तेन्जिङलाई कुनै रुपमा सम्झँदैन । यदि कुनै बखत् सम्झिहालेछ भने पनि तेन्जिङको नाममा खोलिएका विभिन्न संगठनका लागि चन्दा दिन सम्झने हो । ती संगठनहरु पनि चन्दा उठाउने धन्दामा छन् । देशको हिरालाई अर्को देशको राष्ट्रपतिले सम्मान गरिँरहँदा हाम्रा टाउकेहरु भिडमभाड गरी तँ भन्दा म ठूलो नेता भन्नलाई लागि परेका छन् । नेपालमा खासै नामै नलिइने तेन्जिङलाई अमेरिकी पूर्वराष्ट्रपतिले सम्झनुलाई गर्वकै कुरा भनेर मान्न पर्ने हुन्छ ।