सूचना आयोगको प्रमुख आयुक्तमा डा सुरेश आचार्य, आयुक्तमा विष्ट र भण्डारी सिफारिस

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत रहेका वरिष्ट पत्रकार डा सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका छन् । प्रमुख आयुक्त सहित दुई आयुक्त रहने आयोगमा प्रेस चौतारीका पूर्व अध्यक्ष गगन विष्ट र पत्रकार दुर्गा भण्डारीको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

यही व्यवस्था अनुसार सिफारिस समितिले उनीहरुको नाम प्रस्ताव गरेको हो । जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।
सिफारिस भएका आचार्य काँग्रेस निकट हुन भने विष्ट र भण्डारी एमाले निकट हुन् ।