काठमाडौं । प्राय भ्रष्टाचार मुद्धामा फाइल सदर गर्ने मन्त्रालयका मन्त्रीहरुले सफाई पाउने र सचिवसम्मलाई भ्रष्टाचार मुद्धा लगाउने चलन बढ्दै गएको छ । एउटै मुद्धामा टिप्पणी पेश गर्ने जेल जानु पर्ने तर सदर गर्नेराजनीतिज्ञलाई कुनै पनि कार्वाही नगर्ने अभ्यासका धेरै उदाहरणहरु छन् । अहिले चर्चित वाइडबडी भ्रष्टाचार प्रकरणमा पनि तात्कालिन मन्त्री जीवन बहादुर शाहीलाई सफाई दिइएको छ भने तात्कालिन सचिव शंकरप्रसाद अधिकारीलाई भने दामासाहीले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना सहित एक वर्ष छ महिना कैदको भागिदार बनेका छ ।
वाईडबढी भ्रष्टाचारमा नेपाल वायुसेवा निगमका तात्कालिन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, तात्कालिन पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछाने दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा सो फैसला गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ । यसैगरी अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । कंसाकार नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष थिए भने अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव थिए।
अधिकारी र ढुङ्गानाले नेपाल सरकारको सचिवबाट अवकाश पाइसकेका छन्। यसैगरी सहसचिव लामिछाने भने निलम्बनमा थिए। अदालतले कुल बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँको दामासाहीका हिसाबले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गर्नुका साथै बिगो असुल उपर हुने फैसला समेत गरेको छ ।
त्यसबाहेक प्रतिवादी कायम भएकामध्ये पूर्वमन्त्री जीवनबहादुर शाही सहित अन्य सबैले सफाइ पाएका छन्।
Add Comment