काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शहरी जनमत पार्टीप्रति असन्तुष्ट रहेको स्वीकारेको छ ।
केन्द्रीय मुख्यालय च्यासलमा मंगलबार साँझ बसेको सचिवालय बैठकमा गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनको समीक्षा भएको थियो । समीक्षाका क्रममा एमालेले सहरी जनमत पार्टीसँग सन्तुष्ट नदेखिएको निष्कर्ष निकालेको हो ।
एक अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजयी हासिल गर्यौं’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यति हुँदाहुँदै पनि यो परिणामलाई हामीले अलिक गम्भीरतापूर्वक लिएका छौं । ।। खासगरी सहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौं, त्यो ढंगले परिणाम आउन नसकेकोप्रति अलिक गम्भीर पनि भएका छौं ।’
उपनिर्वाचनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गत १७ मंसिरदेखि चीन भ्रमणमा रहेकाले एमालेमा उपनिर्वाचनबारे समीक्षा भएको थिएन । तर महासचिव शंकर पोखरेलले सम्बन्धित कमिटीका नेताहरूसँग रिपोर्ट लिएका थिए ।
महासचिव पोखरेलको रिपोर्टकै आधारमा सचिवालयमा उपनिर्वाचनको नतिजाबारे समीक्षा भयो । र, शहरी जनमतप्रति गम्भीर हुनुपर्ने निष्कर्ष निकाल्यो । ‘।।अझ बढी सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेका छौं’, ज्ञवालीले भने ।
उपनिर्वाचन भएका कीर्तिपुर नगरपालिकाको मेयर सहित काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षमा जसरी पनि जित्ने लक्ष्य एमालेले लिएको थियो । ७ मंसिरमा एमालेले दरबारमार्गमा गरेको शक्ति प्रदर्शन उपनिर्वाचनलाई प्रतिष्ठाकै रुपमा लिएको एउटा उदाहरण थियो ।
नेताहरूको परिचालन र उम्मेदवार चयन प्रक्रिया हेर्दा समेत एमालेले कीर्तिपुरको मेयर पद जसरी पनि जित्न चाहेको थियो । यसको मूल कारण भने शहरी क्षेत्रमा एमालेको अवस्था सुधार गर्ने नेताहरूको नीति लुकेको थिएन । अझ राजधानी काठमाडौंमा एमालेको अवस्था निराशाजनक छ ।
Add Comment