कास्की । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई गतिशील, प्रभावकारी र जीवन्त राख्नका लागि संशोधन आवश्यक भएको बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश, प्रदेश तथा स्थानीय विभागद्वारा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा थापाले गणतन्त्र, सङ्घीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन हुने उल्लेख गरे।
वर्तमान संविधानमा देखिएको निर्वाचन प्रणालीका केही अव्यवहारिक पक्षलाई संशोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै सङ्घदेखि प्रदेशसम्मका मन्त्रालयको सङ्ख्या धेरै भएकाले सरकारको आकार ठुलो हुँदा समस्या देखिएको महामन्त्री थापाले उल्लेख गरे ।
निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठुलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको हुँदा गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव पनि थापाले सुनाए।
महामन्त्री थापाले ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्ने भन्दै भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिए।
Add Comment