काठमाडाैं । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या १२६ पुगेकाे छ भने अन्य १८८ जना घाइते भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
भूकम्पको केन्द्रविन्दु मानिएको शिगात्से सहरमा १,००० वटाभन्दा बढी भवन भत्किएका छन् ।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको छन् भने प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडोबाट जोगिन कम्बल वितरण गरेका छन्।चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र मानवरहित ड्रोनलाई परिचालित गरेको छ। खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको छ ।उक्त क्षेत्रमा विद्युत् र खानेपानी वितरण प्रणाली अवरुद्ध भएको छ। भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।
चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो।अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Add Comment