८३ दिनदेखि कास्की प्रहरीकाे हिरासतमा रहेका रवि लामिछाने धराैटीमा रिहा

कास्की ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासकाे आदेश बमाेजिम ६५ लाख रुपैयाँ धरौटी(बैंक ग्यारेन्टीमार्फत) जुटाएर लामिछाने थुनामुक्त भएका हुन् ।

थुनछेक बहस सकिएपछि न्यायाधीशले रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसक्रममा लामिछानेले आफूलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अवसर दिन माग गरेको विवरण आएका थिए।लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै अदालत परिसर बाहिर रास्वपा कार्यकर्ता र समर्थकहरूले खुसीयाली मनाएका छन्।

उनलाई कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएकाे थियाे ।रविसँगै पूर्वडिआइजी छविलाल जोशी पनि ८८ लाख धरौटीमा रिहा गर्ने भएका छन् ।

लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

यसैबीच,विभिन्न सहकारीबाट अवैधानिकू रूपमा गोर्खा मिडियामा पुगेको बचत रकम खर्च गर्ने क्रममा प्रबन्ध निर्देशकका हैसियतमा लामिछानेको पनि संलग्नता देखिएको आरोपमा लामिछानेविरुद्ध काठमाडौं लगायत अन्य जिल्लामा पनि अनुसन्धान भइरहेको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हुँदा लामिछाने पोखराबाट धरौटीमा रिहा भए पनि पुनः पक्राउ पर्ने अवस्था रहेको अभियोजनकर्ताहरूले बताएका छन्।