काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको बोलीलाई समाउँदै प्रमुख प्रतिपक्षी दलहरुले मोर्चालाई थप कसिलो बनाउन थालेका छन् । ओलीले संविधान संशोधन तत्काल नभई २०८७ सालमा हुने अभिव्यक्ति दिए पछि विपक्षी दलहरुका निम्ति कटाक्ष गर्ने मसला भएको छ । त्यसो त ओलीको उक्त बोलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकाे पनि मन विजाएको छ । तसर्थ कांग्रेस पनि केही ससंकित भएको हो कि भन्ने भान सो पार्टीका नेताहरुले ठाउँठाउँ गएर दिएको अभिव्यक्तिले पनि प्रष्ट्याउँछ ।
हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताए पछि त्यसले राजनीतिमा नयाँ तरंग ल्याएकोे छ । संविधान संशोधन गर्ने लगायतका सात बुँदे सहमति गरेर सत्ता सहयात्रा सुरु गरेको काङ्ग्रेस नराम्रोसँग झस्किएको छ।
नेताहरुले प्रधानमन्त्रीको भनाइ सातबुँदे सहमति विपरीत भएको जनाउँदै त्यसलाई तत्काल सच्याउनु पर्नेमा जोडदिएका छन् ।महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिँह केसी, भीष्मराज आङ्देम्बे, मिनेन्द्र रिजाल लगायतका नेताहरू प्रधानमन्त्रीको भनाइले गठबन्धनको औचित्य सकिएको निष्कर्षमा पुगेका छन्।
काँग्रेसका केही नेताहरुको यहि असन्तुष्टिलाई मौका छोप्दै विपक्षी दलहरु सरकार फर्ने सम्मको गृहकार्यमा लागेका छन् । यही मौकामा विपक्षी दलहरु कांग्रेसलाई बलियो हतियार बताउन खोज्दैछन् । वर्तमान सरकारबाट कांग्रेसलाई अलग गराएर ओली सरकारलाई गलहत्याउने दाउमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् । त्यसैले त माओवादी अध्यक्ष दाहाल ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नटिक्ने दावी गर्र्दै हिँडेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर काङ्ग्रेसभित्र देखिनेगरी असन्तुष्टि बढिरहेका बेला विपक्षी दलहरू पनि सक्रिय भएका हुन्।शुक्रबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा वर्तमान सरकारको भविष्य र नयाँ बन्ने सरकारको विषयमा माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । केही दिनयता उनीहरुबीच पटक(पटक भेटघाट भए पनि ठोस निष्कर्षमा पुगेका छैनन्।
Add Comment