हमासद्वारा बन्दी रिहाई स्थगित, युद्धविराम रद्द गर्ने ट्रम्पको चेतावनी

हमासले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै शनिबारका लागि तय गरिएको इजरायली बन्धकहरूको रिहाई स्थगित गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले यसलाई सम्झौताको “पूर्ण उल्लङ्घन” भनेका छन् र इजरायली सेनालाई उच्च सतर्कतामा रहन आदेश दिएका छन्।इजरायलले हामासविरुद्ध थप कारबाहीको चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धकहरूलाई रिहा नगरे युद्धविराम रद्द गरिने चेतावनी दिएका छन् । उनले भने, ‘यदि समयमै बन्धक फिर्ता भएन भने सबै बर्बाद हुन्छ ।

हामासका प्रवक्ताले इजरायलले विस्थापित प्यालेस्टिनीहरूलाई गाजाको उत्तर फर्कन नदिएको, गोली चलाएको र सहमति अनुसारको मानवीय सहायता प्रवेश गर्न अवरोध गरेको आरोप लगाएका छन्।

युद्धविराम सुरु भएयता १६ इजरायली र ५ थाई बन्धकहरू रिहा भएका छन्, जसको सट्टामा ५६६ प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिएको छ। अब पहिलो चरणको अन्त्यसम्म ३३ बन्धक र १,९०० कैदीको अदलाबदलको योजना छ, तर इजरायलका अनुसार तीमध्ये आठ बन्धकहरू मरेका छन्।