थाङ्नामा मिल्किएको कर्णाली जलविद्युत् आयोजना

सुर्खेत – कर्णाली जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना भएको प्रदेश हो । यहाँ सानादेखि ठूला गरी दर्जनौं जलविद्युत् आयोजना सञ्चालन गरी बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । तर प्रदेशमा विद्युत् उत्पादनको इजाजत लिएका ४८ वटा आयोजना भने झोलामै सीमित छन् । लाइसेन्स लिएर होल्ड गरिएका यस्ता आयोेजनाको विद्युत उत्पादन क्षमता दुईदेखि एक हजार नौ सय मेगावाटसम्म छ । खोलाजति ओगटेर झोलामा राख्ने प्रवृत्ति कर्णालीमा पनि बढ्दै गएको हो ।

प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने सरकारी तथ्याङ्क छ । हाल कर्णालीमा करिब १२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिएको छ । राष्ट्रिय गौरव र कर्णालीको समृद्धिसँग जोडिएको माथिल्लाे कर्णाली जलविद्युत आयोजनासमेत १२ वर्षदेखि होल्ड छ । नौ सय मेगावाट क्षमताको यो आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले दुई पटक समय थप्दा पनि निर्माण कार्य अघि बढाएको छैन । परियोजना विकास सम्झौता (पीडीए) हुँदा सन् २०२१ सम्ममा आयोजना निर्माण गरिसक्ने लक्ष्य लिएको थियो ।

कतिपय ठाउँमा विद्युत उत्पादन पछि खरिदको ग्यारेण्टी नहुँदा निर्माण कार्य रोकिएको छ । केहीले उत्पादन गर्ने अवस्था हुँदा पनि निर्माण कार्य अघि बढाउन चासो नदिएका हुन् । सर्भे गर्न लाइसेन्स लिएर बसेका कम्पनीले अहिलेसम्म काम गरेका छैनन् । यस्ता कम्पनीले जलविद्युत उत्पादनका लागि प्रदेशका विभिन्न नदी मात्र ओगटेका हुन् । वर्षाैंदेखि ‘झोलामा खोला बोकेर हिँड्ने’ तर तोकिएको समयमा काम नगर्ने कम्पनीहरूको लाइसेन्स भने रद्द भएको छैन