प्रतिनिधिसभाबाट फिर्ता आएका तीन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता गरिएका तीन विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’ र ‘विधायनसम्बन्धी विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट गरिएका संशोधनलाई स्वीकृत गरिएको हो।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई पारित गर्ने प्रस्ताव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेका थिए , जसलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो।

यस्तै, विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको थियो। उक्त विधेयकलाई पनि राष्ट्रियसभाले कुनै विमति बिना पारित गर्यो।

त्यसैगरी, विधायनसम्बन्धी विधेयक, २०८० का सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संशोधनलाई स्वीकृति दिन प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सर्वसम्मतिले पारित भयो।

यी विधेयकहरूको पारितसँगै सम्बन्धित कानुन कार्यान्वयनका लागि थप मार्गप्रशस्त भएको छ।