गैरकानूनी ढंगले गभर्नर बनाउन ज्ञानेन्द्र ढुङ्गानाको ‘ब्याकडेट’मा राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समितिको सरकारले आधिकारिक रूपमा घोषणा गरेको भोलिपल्ट अर्थात् मंगलबार मात्रै नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । यद्यपि, उनले मंगलबार राजीनामाको घोषणा गरे पनि आइतबारबाट लागू हुनेगरी राजीनामा दिएको जनाएका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ मा वाणिज्य बैंक वा वित्तीय संस्थामा बहालवाला व्यक्ति गभर्नर बन्न नपाउने उल्लेख छ ।

सरकारले गभर्नर सिफारिस समिति बनाएको भनेर दुई साताअघि नै हल्ला फिँजाए पनि आधिकारिक निर्णय नगरेसम्म उनले राजीनामा दिएका थिएनन् । तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको पुष्टि भएपछि ढुंगानाले आइतबारदेखि लागू हुनेगरी भनेर मंगलबार राजीनामा दिएको जनाएका छन् । यद्यपि, उनले आइतबार नै राजीनामा दिएको बताएका छन् ।

उनले राजीनामा दिएको भनेर जनाए पनि नबिल बैंकले भने आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन । मंगलबार साँझसम्म पनि ढुंगानाको राजीनामा स्वीकृत गरेको भनेर नबिल बंैकले कुनै आधिकारिक जानकारी दिएको छैन ।

नबिल बंैकको वेबसाइटमा प्रमुख कार्यकारीका रूपमा ढुंगानालाई नै राखिएको छ । आइतबारदेखि लागू हुनेगरी मंगलबार दिएको राजीनामा अवैधानिक हुने विज्ञहरू बताउँछन् । कुनै पनि राजीनामा केही दिन पछाडिदेखि लागू हुनेगरी दिने प्रचलन रहेको छ ।

ढुंगानाले आइतबारदेखि लागू हुनेगरी मंगलबार राजीनामा दिए पनि बैंक सञ्चालक समितिले स्वीकृत गरिनसकेकाले र बंैकले निमित्त सीईओ तोकिनसकेकाले ढुंगानालाई गभर्नर बन्न अप्ठेरो हुने बताइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत -सीईओ_ ढुंगानालाई गभर्नर बनाउनका लागि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पुरै तन, मन, धन दिएर लागिपरेको आरोप लाग्ने गरेको छ । यद्यपि, यस आरोपको कहीँ कतैबाट कसैले पनि पुष्टि गरेको छैन ।

यसैगरी, उनलाई उद्यमी व्यापारी दीपक भट्टले पनि साथ दिएको आरोप लागेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् । ओलीलाई एउटै जिल्लावासीका आधारमा गभर्नर बनाउन उनले लबिङ गर्ने गरेको स्रोतको भनाइ छ । कांग्रेस नेताहरूलाई पनि गभर्नर कांग्रेसी कोटाबाटै हुनुपर्ने भन्दै शक्ति केन्द्रहरूबाट दबाब पैदा गरेको स्रोतको भनाइ छ । गभर्नर कांग्रेसको भागमा पर्ने निश्चित भएपछि ढुंगाना सीईओबाट राजीनामा दिएर गभर्नर बन्न दौडधुप गरिरहेका छन् ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी र ५ प्रतिशत वा सोभन्दा बढी सेयर तथा मतदानको अधिकार भएको व्यक्ति राष्ट्र बैंकको गभर्नर वा सञ्चालक हुन अयोग्य हुने नेपाल राष्ट्र बैंक ऐनको दफा २१ मा रहेका हुँदा ढुंगानाले हतारमा मंगलबार आइतबारदेखि लागू हुनेगरी भनी राजीनामा दिएको जनाएका हुन् ।

ढुंगानालाई विनोद चौधरीको आशीर्वाद र साथ रहेको छ । चौधरी कांग्रेसका केन्द्रीय सदस्य हुन् । यसका साथै दाइ गोविन्द ढुंगानाको पनि ज्ञानेन्द्रलाई साथ रहेको छ । गोविन्दले देउवालाई कांग्रेस पार्टी फुटाउँदा सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बनेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका ढुंगानाले सन् १९९४ मा बैंक अफ काठमान्डुबाट करिअर सुरु गरेका थिए । उनले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

पेसाले सीए ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेकामा गभर्नरको लबिङ बलियो हुने देखेर राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद् बैठकमा नामहरू सिफारिस गर्नेछ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि त्यसमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही २४ चैतमा सकिँदै छ । उनी २४ चैत २०७६ मा ५ वर्षका लागि राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए । उनको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाएको हो ।

गभर्नर बन्नका लागि एक दर्जन आकांक्षीले लबिङ थालिसकेका छन् । ढुंगानासहित राष्ट्र बैंककै डेपुटी गभर्नरसम्म यस दौडमा रहेका छन् ।