विद्युत प्राधिकरण चितवनको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्दको छानबिन सुरु

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको अपशब्दका विषयमा छानबिन सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले प्रधानमन्त्रीविरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्द लेखिएको विषयमा कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको अपशब्द लेखिएपछि कार्यालय प्रमुखसहित कर्मचारी छानबिनको दायरामा आएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले घटनाका सम्बन्धमा स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन्।

‘घटनाको विषयमा बुझ्ने क्रम जारी छ। हामीले घटना थाहा पाएपछि कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधेका छौँ,’ उनले भने, ‘स्पष्टीकरणको पत्र आएपछि कारबाही अगाडि बढाउँछौँ।’ यो घटना सोमबार दिउँसो १२ बजेतिरको हो। कार्यालयले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको दाबी गरेको छ। साथै प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको घटनाबारे छानबिन हुनुपर्ने माग पनि कार्यालयले गरेको छ।

कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठले आफूलाई फसाउन विद्युत् कार्यालयभित्रका कर्मचारीले नियोजित खेल खेलेको बताए। ‘गल्ती नहुँदा नहुँदै मलाई घानमा पारिएको छ। सोमबार दिउँसो १२ बजेतिर ह्याक भएर पाँच मिनेट जति प्रधानमन्त्रीविरुद्ध अपशब्द लेखिएको थियो। घटना थाहा पाउनेबित्तिकै हटाएका थियौँ,’ उनले भने, ‘सो घटनालाई अतिरञ्जित बनाउन हाम्रै कर्मचारीले मङ्गलबार बिहान ९ बजेतिर फेसबुकमा राखिदिए।’

आफूसँग असन्तुष्ट कर्मचारीका कारण समस्या सृजना भएको उनको दाबी छ। डिजिटल बोर्डको नियन्त्रण पहुँच भने आफूसँग मात्र भएको उनले बताए। डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दहरू देखिएपछि मङ्गलबार एक समूहले कार्यालयमा प्रवेश गरी केन्द्रप्रमुखमाथि कुटपिट गर्नुका साथै तोडफोड गरेका छन्।

मङ्गलबार बिहान करिब १० बजे ३५–४० जनाको समूह कार्यालयमा प्रवेश गरी वितरण केन्द्रका प्रमुख श्रेष्ठलाई कार्यकक्षमै कुटपिट गरेको दाबी गरिएको छ। सो क्रममा आक्रमणकारीले कम्प्युटर, टेबललगायत सामग्री तोडफोड गरेका छन्। यसै विषयमा युवा सङ्घ र अनेरास्ववियुको टोली मङ्गलबार ध्यानाकर्षण पत्र बुझाउन सिडिओ कार्यालयमै पुगेका थिए। उनीहरूले विद्युत् कार्यालयमा ध्यानाकर्षण गराउन पुगेको तर आफूहरूले आक्रमण र तोडफोड नगरेको दाबी गरेका छन्।

नेकपा एमालेका नेता तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाले देशको सम्मानित प्रधानमन्त्रीबारे एउटा विद्युत् प्राधिकरणजस्तो संस्थाबाट डिजिटल बोर्डमा आपत्तिजनक शब्द देखिनु नियोजित भएको बताए। ‘कार्यालय प्रमुखको गतिविधि निन्दनीय र खण्डनीय छ। यो घटना अचानक घटेको होइन, प्रायोजित भएको छ,’ उनले भने, ‘विद्यार्थी र युवाहरूबाट आक्रोशित भीडले तोडफोड गरेछ, तर स्वागतयोग्य होइन। यो आवेशको परिमाण हो।’ यता विद्युत् प्राधिकरण परिवारले सार्वजनिक अपिल जारी गर्दै कार्यालयभित्र तोडफोड र आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

घटना विषयमा भरतपुर वितरण केन्द्रले कडा निन्दा गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसीन व्यक्तिविरुद्ध गरिएको अपशब्द संविधान र कानुनविपरीत हो। घटनामा संलग्न व्यक्तिलाई साइबर अपराध ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही होस्।’

प्राधिकरणले डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीलाई गालीगलौज लेखिएको घटनालाई आपत्तिजनक र गैरकानुनी भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ। साथै, कर्मचारी असुरक्षित महसुस गरिरहेको भन्दै तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको छ। कार्यालय प्रमुख श्रेष्ठले आफू उपचारका लागि काठमाडौं पुगेको बताए। ‘मलाई बिहान आएर हातपात गरे,’ टेलिफोनमा श्रेष्ठले भने, ‘त्यहाँ असुरक्षित भएपछि उपचारका लागि अहिले काठमाडौं आएको हुँ।’

सरकारले सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो। तर सोमबार बिहान नै भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा देखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बुले विद्युत् कार्यालयका प्रमुखसहितको टिम र युवाका तर्फबाट नेतृत्व गरेको टिमलाई छलफलका लागि बोलाएको बताए।