हनुमान जन्मोत्सवमा तनाव भएपछि वीरगन्जमा कर्फ्यू आदेश जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज (शनिबार) तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।
वीरगन्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि आज बेलुका साढे ६:०० देखि आइतबार बिहान १२:०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यु आदेश जारी गरिएको बताए । त्यस क्रममा केही सङ्ख्यामा प्रहरी र अन्य व्यक्ति घाइते भएका छन् ।
कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।
यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ ।
यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

ताजा अपडेट