भोटेकोशीको बाढी प्रभाव नारायणी नदीमा देखियो

काठमाडौं। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको नारायण्ी नदीमा देखिएको छ । बाढीले नारायणी नदी आसपासमा कुनै क्षति नगरेपनि नदी आसपासका नागरिकहरुलाई भने सरकाले सचेत रहन आग्रह गरेको छ । बाढी नारायणी नदीको पुलको निकै तल देखिन्छ । जसले गर्दा त्रिसुली नदीमा रहेका पुल जस्तै नारायणी नदीको पुललाई क्षति गर्ने संकेत भने छैन ।
बाढी चितवन प्रवेश गरे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढीको अवस्था र सम्भावित जोखिमबारे निरन्तर निगरानी भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्याल आफैँ फिल्डमा खटिएर बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रको अवस्थाबारे जानकारी लिईरहेका छन् । उनका अनुसार अहिलेसम्म बाढीका कारण चितवनमा कुनै क्षति भएको छैन ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न तथा प्रशासन र सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

 

यसअघि त्रिशूली नदीमा आएको बाढी चितवनको मुग्लिन क्षेत्र हुँदै देवघाटतर्फ बढेको थियो । बाढीको जोखिमलाई ध्यानमा राख्दै देवघाटधामका नदी किनारमा रहेका वृद्धाश्रम तथा बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

चितवन प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । नदीको बहाव र तटीय क्षेत्रको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको प्रशासनले जनाएको छ । वाढीमा आएका सामग्री लिनको लागि भने स्थानीयको भीड लागेको छ ।