सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने

काठमाडाैं । धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने तयारी गरिरहेको छ । यसका लागि धितोपत्र बोर्डले तीव्र रूपमा छलफल अघि बढाएको छ ।

बोर्डको यो तयारी संघीय संसद्को अर्थ समितिको निर्देशनविपरीत हो । अर्थ समितिले यसअघि सञ्चालनमा रहेका ब्रोकर कम्पनीको संस्थागत सुशासनसँगै क्षमता अभिवृद्धि गरी बैंकको सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिन भनेको थियो ।

तर निर्देशनविपरीत धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई लाइसेन्स नदिएर अरू (व्यक्तिगत) लाई नै लाइसेन्स दिने तयारी गरेको स्रोतको दाबी छ । यसका लागि बोर्डले छलफल तीव्र बनाएको छ ।

अहिले केन्द्रमा पाँच वटा र हरेक प्रदेशमा ३ देखि ५ वटा ब्रोकर थप्ने गरी प्रस्तावउपर सञ्चालक समितिमा छलफल भइरहेको बताइएको छ । यसअघिको तयारी बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिने थियो । सोहीअनुरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले बैंकहरूको आवेदन पनि संकलन गरेको थियो । पछि विभिन्न वहाना बनाएर त्यसलाई स्थगन गरियो । कान्तिपुर दैनिकमा खबर छ ।