कमिसन माग्नेका कारण स्वास्थ्य मन्त्रालयलयको बजेट फ्रिज, कोरोनाले जनतामा हाहाकार

काठमाडौं । कमिसन माग्नेका कारण स्वास्थ्य मन्त्रालयलयको बजेट फ्रिज भएकाे स्वास्थ्य मन्त्रालयका मन्त्री हृदयेश त्रिपाठीले दाबी गरेका छन् । मन्त्रालयलयको बजेट फ्रिज भएर कुहिए पनि जनतामा भने काेराेनाले हाहाकार मच्चाइरहेकाे छ । स्वास्थ्य मन्त्रालयलाई  कोभिड–१९ विरुद्धको खोप किन्न अर्थ मन्त्रालयले पुसको अन्त्यतिर ४८ अर्ब रुपैयाँसम्म खर्च गर्न अनुमति दिएकाे थियाे । आर्थिक वर्ष २०७७–७८ को बजेटमा सरकारले अघिल्लो वर्षको तुलनामा झण्डै ३२ प्रतिशतले वृद्धि गरी ९० अर्ब ६९ करोड रुपैयाँ पुर्याएको थियो । महामारीकै समयमा बजेट आएको हुनाले नागरिकको जीवन रक्षालाई बजेटमा पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरिएको थियो ।  ‘बजेट आउँदा कोभिड–१९ विरुद्ध खोप विकास भैसक्छ भन्ने अनुमान गर्न गाह्रो थियो । तर हामीले मध्यावधि समीक्षामा बजेटको प्राथमिकता परिवर्तन गर्नेगरी पुसको अन्त्यतिर नै स्वास्थ्य मन्त्रालयलाई खोप किन्न ४८ अर्ब रुपैयाँसम्म खर्च गर्दा हुन्छ भनेर स्रोत सुनिश्चितता दिएका हौं,’ अर्थमन्त्री विष्णु पौडेलले भनेका छन्, ‘महामारीमा नागरिकको प्राणरक्षाका लागि खोप सरकारले निःशुल्क उपलब्ध गराउन हामीले नागरिकको जीवन रक्षा गर्ने बजेटको प्राथमिकता अनुरुप नै स्रोत सुनिश्चित गरिदिएका थियौं ।’ तर, स्वास्थ्यले खर्च गर्ने अनुमति पाएकाे रकम पनि खर्च गरेकाे छैन ।

 

 

अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख भएको हरेक स्थानीय तहमा ५, १० र १५ शैय्याका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी तीन सयभन्दा बढी अस्पतालको शिलान्यास गरेका थिए । स्वास्थ्य मन्त्रालयको बजेटबाट उल्लेख्य रकम खोप खरिदका लागि खर्च हुने अनुमानका बीच वैशाखको तेश्रो सातासम्म स्वास्थ्य मन्त्रालयको बजेट २० प्रतिशत हाराहारीमा मात्र खर्च भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, वैशाख तेश्रो सातासम्म २२ अर्ब रुपैयाँजति खर्च भएपनि त्यसपछि महामारीको दोस्रो लहर सम्बोधन गर्न भएको खर्च तथा यसअघि देखिकै भुक्तानी दायित्व आर्थिक वर्षको अन्तिममा फरफार हुने भएकाले ४५ देखि ५० प्रतिशतसम्म बजेट खर्च हुनसक्छ । आधा बजेट खर्च भएपनि विनियोजित बजेटबाट कोभिड–१९ विरुद्धको खोप किन्न पुग्ने बजेट यस वर्ष खर्च नहुने मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

 

मन्त्रालयले भारतस्थित सिरम इन्स्टिच्यूट अफ इण्डियासँग सीधै खरिद गर्न लागेको ५० लाख डोज खोपमा कमिसन नपाएपछि बिचौलियाले भाँजो हालेको र खरिद सम्झौता भैसको १० लाख डोज पनि थप खरिदमा कमिसन दिन सरकारलाई बाध्य पार्न तिनै कमिसन एजेण्टले रोकेको मन्त्री त्रिपाठीले सार्वजनिक अन्तर्वार्ताहरूमा बताउँदै आएका छन् । अहिले स्वास्थ्य मन्त्रालयले सिरमको फ्याक्ट्रीको एउटा भवनमा माघ ८ (२१ जनवरी) मा भएको आगलागीका कारण खोप नआएको हास्यास्पद तर्क गरेका थिए । जबकी सिरमका सीईओ आदर पुनावालाले २१ जनवरीमै ट्वीट गर्दै आगलागीले कोभिशील्ड खोप उत्पादनलाई असर नपर्ने र कम्पनीले सम्झौता अनुसार नै सबै सरकार र संस्थाहरूलाई खोप आपूर्ति गर्ने बताएका थिए । आगलागी भएको झण्डै एक महिनापछि सिरमले नेपालले सम्झौता गरेको २० लाख डोज खोपमध्ये पहिलो चरणमा १० लाख डोज खोप फागुन ५ गते नेपाल पठाएको थियो । अर्को चरणमा १० लाख डोज खोप पठाउनुपर्नेमा मन्त्रालयले ५० लाख डोज खोप सीधै कम्पनीसँग खरिद गर्नेगरी कोटेशन लिएर प्रक्रिया अघि बढाएपछि कमिसन नपाएर क्रुद्ध भएका कमिसन एजेण्टले १० लाख खोप समेत रोकेर दबाब दिएको मन्त्री त्रिपाठीले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।