नेपाल समूह एमालेमा रहने सम्भावना समाप्त

काठमाडाैं । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई अब एमाले पार्टीबाट निकालिने भएकाे छ । हिजाे प्रधानमन्त्रीले लिन लागेकाे विश्वासकाे मतमा उपस्थित नभएकाे कारण एमाले पार्टीले साे समूहलाई एमालेमा नरहने गरी कारबाहीकाे प्रकृया अघि बढाउने भएकाे हाे ।  गत वर्ष २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेपछि  वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एमालेमा समानान्तर गतिविधि गर्दै आएका छन् । कानुनी रूपमा अहिलेसम्म पनि नेपाल समूह एमालेमै छ। तर, २७ वैशाखमा आफ्नै पार्टीको सरकार ढाल्न पार्टी ह्वीप उल्लंघन गर्दै प्रतिनिधि सभाको बैठकमा साे समूह अनुपस्थित रह्याे। यो अनुपस्थिति ‘विद्रोह’को सन्देश हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १२४ जनाले विश्वासको मतको विपक्षमा भोट हाले। र, प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्।

 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका भनाइमा माधव नेपाल समूहले प्रतिनिधि सभामा अनुपस्थित रहेर अक्षम्य अपराध गरेको छ। “उहाँहरू आफ्नो मिशनमा सफल हुनुभएको छ। उहाँहरूको उद्देश्य नै आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढलाउनु थियो। संसदीय प्रणालीमा यो गम्भीर विषय हो,” ज्ञवाली भन्छन्।  तर, नेपाल समूह भने पार्टी एकता बचाइराख्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकताका लागि दबाब दिनका लागि अनुपस्थित हुने निर्णय गरिएको बताउँछ। “हामीले सारेका मागहरूमा सुनुवाइ नभएपछि दबाब स्वरूप अनुपस्थित हुने निर्णय गरिएको हो,” उक्त समूहका नेता गोकर्ण विष्ट भन्छन्। नेपाल समूहले यस्तो दाबी गरे पनि उनीहरूको पछिल्लो निर्णयले नेपाल समूह एमालेमा रहने सम्भावना ‘लगभग समाप्त’ भएको बताइन्छ।