आइसियू अभाव हुँदा बुटवलमा ६ जना संक्रमितको ज्यान गयो

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शय्या अभावमा ६ जना संक्रमितको मंगलवार राति मृत्यु भएको छ  । मृतक ६ जनामध्ये ५ जना अस्पतालको आकस्मिक कक्ष र १ एचडीयू शय्या पर्खिंदापर्खिंदै मृत्यु भएको हो ।  मृत्यु हुनेमा मंगलवार आकस्मिक कक्षमा आएका पाल्पाको तानसेन नगरपालिका–१४ का ३८ वर्षीय पुरुष छन् । उनको मंगलवार राति ११ बजे मृत्यु भएको हो ।रुपन्देहीको सैनामैना–७ का ३५ वर्षीय पुरुषको मंगलवार साँझ ६ः३५ बजे, वैशाख २६ गतेदेखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलवार साँझ ५ः३३ बजे मृत्यु भएको हो ।

 

मंगलवार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधवार बिहान ७ः५२ बजे मृत्यु भएको छ । वैशाख २४ गतेदेखि इमर्जेन्सीमा रहेका तिलोत्तमा–१ का ५७ वर्षीय पुरुषको बुधवार बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । मंगलवार नै गम्भीर अवस्थामा इमर्जेन्सीमा ल्याइएका बुटवल–६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू शय्यामा पुर्‍याएलगत्तै मंगलवार राति ७ बजे मृत्यु भएको उनले बताए । डा. गौतमका अनुसार मृतकहरूमध्ये ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एचडीयू शय्या कुरेर इमर्जेन्सी वार्डमा बसिरहेका थिए ।

 

कोभिड विशेष अस्पतालमा शय्या खाली नभएपछि इमर्जेन्सीमै ज्यान गएको थियो । ‘अक्सिजन नभई नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र शय्या दिन पनि नसकिने अवस्था आयो,’ डा. गौतमले भने, ‘संक्रमितको अवस्था र गाम्भीर्यता हेरेर प्रतिक्षा सूचीमा राख्ने गरेका छौं ।’ रुपन्देहीमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या २९९ पुगेको छ ।