महामारीमा जुवाको खालमा प्रहरीको छापा

काठमाडाैं । महामारीको समयमा दल बनाएर जुवा खेल्ने जुवाडेको खालमा प्रहरीले छापा मारेकाे छ । नेपाल प्रहरीले निशेषधाज्ञामा पनि  जुवातास खेली भिड जम्मा गर्ने  पाँच जनालाई पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेलिरहेका  पाँच जनालाई  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।