‘धारा ७६ को उपधारा ५ बमोजिम अझै पनि नयाँ सरकार बनाउन मिल्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार अझै बनाउन सकिने भएकाले विचार गर्न दलहरुलाई आग्रह गरेका छन् । पार्टी विभाजनको संघारमा रहेका बेला उनले केपी ओली नेतृत्वको सरकारको विकल्पमा सो प्रस्ताव अघि सारेका हुन् । केही दिनअघि आफूले प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सहमतिको सरकार गठनका लागि राखेको प्रस्ताव विवादमा परेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

 

एमाले नेता महेश बस्नेतले बाबुराम आफैंले केपी ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागेको र गत वर्ष संघीय समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भनेर महेश बस्नेतहरुमाथि आरोप लगाउनु राजनीतिक स्टन्टमात्र थियो भनेको कुरा खुलासा गरेपछि उनको यस्तो प्रष्टिकरण आएको हो । डा. भट्टराईले आइतवार विहान ट्वीट गर्दै वर्तमान र भूतपूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको आग्रह गरेको बताएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम अझै पनि सरकार बनाउन सकिने बताएका छन् ।

 

भट्टराईले भनेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओलीलाई होइन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । उहाँले नमानेपछि अरुलाई नभनेको हुँ ।’ संविधानको उक्त धारामा यदि उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन नसकेको अवसथामा उपधारा २ बमोजिमको कुनै पनि सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

 

त्यो भनेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको भन्दा पनि सांसदको वहुमत देखाउने अर्थमा लिइएको छ । जसपाको एउटा पक्षले ओलीलाई साथ दिएकोले बाबुरामले उपधारा ५ बाट सरकार बनाउँ भन्नुको अर्थ फेरि पनि एमालेको माधव नेपाल पक्षको सहयोग नै हो ।