काठमाडाैं । सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन्। प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य गर्दै आएका नेपालले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यो विश्वास टिकाइरहन सकेनन्। प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई प्रतिगमनको संज्ञा दिँदै विपक्षी दलहरूले आन्दोलन गरेका थिए। त्यो आन्दोलनमा नेपालको पनि समर्थन थियो।खासगरी राष्ट्रिय सभासदस्यको उपनिर्वाचनमा विपक्षी दलको सहयोगमा नेपाल समूहले उम्मेदवार बनाएको थियो। एमालेको नेपाल समूह, विपक्षी कांग्रेस, माओवादी र जसपाले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा वाग्मती प्रदेशबाट डा खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए। कांग्रेस, माओवादी र एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराए। मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, माओवादी वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले साथ दिएका थिए।
नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाएपछि विपक्षी दलहरूले सरकार निर्माणमा नेपालको सहयोग खोजेका थिए। तर नेपाल समूहले नयाँ सरकार निर्माणमा विपक्षीलाई सहयोग गरेन। नेपाल पक्षको सहयोगबिना विपक्षी दल कांग्रेस, माओवादी केन्द्रसहितको सरकार बन्न सक्ने अवस्था थिएन। नेपाल पक्षले उचित राजनीतिक कदम चाल्न नसक्दा बिहीबार साँझ संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार गठन भयो। नागरिक दैनिकबाट ।
Add Comment