भन्सार छली ल्याइएको कपडा र चिनी बरामद, व्यापारी पक्राउ

मोरङ।  जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार नतिरी अवैध रुपमा भित्र्याइएको १ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ता कपडा र चिनी बरामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मंगलबार दिउँसो भारतबाट विराटनगर महानगरपालिका १६ दरैयाबस्ती हुँदै नेपाल भित्र्याइएको कपडा प्रहरीले बरामद गरेको हो। प्रहरीले १ लाख ५६ हजार १ सय रुपैयाँ बराबरको ४ बोरा लत्ता कपडासँगै दरैयाबस्तीका ३८ वर्षीय सुधिरकुमार महतोलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले महतोलाई उक्त सामान अटोरिक्सामा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। त्यसैगरि सोमबार दिउँसो भारततर्फबाट विराटनगर महानगरपालिका १७ मटेहरुवा हुँदै नेपाल भित्र्याउने क्रममा १ सय ६० किलो अवैध चिनी बरामद गरेको छ। प्रहरीले भन्सार छलेर ल्याउँदै गर्दा सडक किनारमा राखिरहेको अवस्थामा चिनी बरामद गरेको जनाएको छ। हाल मोरङ प्रहरीले आवश्यक कारबाही लागि भन्सार कार्यालय, रानी मोरङमा बुझाउने जनाएको छ।