काठमाडाैं । पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइलेखोप छिट्टै आइहाल्ने आशा जगाएको थियो ।
तर, १५ दिनपछि बल्ल सरकारले खोप खरिद प्रक्रिया अघि बढाएको छ । औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रसियाको स्पुतनिक भी र चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिइसकेको छ । तिनैमध्ये कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खरिदका लागि स्वास्थ्य सेवा विभागले मंगलबार सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको छ । विभागका आपूर्ति महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीले चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न बाँकी रहेको बताए । ‘हामीले २० लाख डोज खोप खरिद गर्न लागेका छौं, कहिले उपलब्ध गराउने भनेर तीन कम्पनीलाई पत्र लेखेका छौं,’ उनले भने । कान्तिपुर दैनिकबाट ।
Add Comment