कांग्रेस बैठकले नयाँ सरकार गठन गर्ने क्षमता राख्छ ?

काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।   बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी बसेको बताइएको  हो । बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी भएको बताइएको छ । बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने  भनिएको छ । तर, प्रतिपक्षी दलसँग त्यसो गर्न बहुमत पुग्दैन । यसका जटिलताहरू धेरै छन् ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्न माधवपक्षले तत्काल सहयाेग गर्न सक्ने अवस्था छैन । जसपाको राजनीति बुझ्न सकिने अवस्था छैन । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । यसमा प्रधानमन्त्रीको छलकपट प्रष्टै देखिन्छ ।  विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र वैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई कांग्रेसले संविधान विपरीत काम भएको बताएको छ । यसलाई  संविधानका ज्ञाताहरूले अलोकतान्त्रिक  कदमको संज्ञा दिएका छन् ।