प्रतिपक्षी दलको गठबन्धन सर्वोच्च जाने तयारीमा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धनका पाँच दल सर्वोच्च जाने तयारीमा जुटेका छन् । संविधानको मर्म मिचेर प्रतिनिधि सभा विघटन गरेकोमा उनीहरूको असन्तुष्टि छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका गठबन्धनका शीर्ष नेतासहित १४९ सांसदहरू सर्वोच्च जाने तयारीमा छन् ।

त्यसका दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । उनीहरु आज अथवा भोलि सर्वोच्च जाने तयारीमा रहेको बताइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन् । विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दावीसहित कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दावी गरेका थिए ।

यद्यपि, दावी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वाराशुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरिएको छ । शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक गरि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका थिए । विपक्षीले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै असंवैधानिक तरिकाले प्रतिनिधिसभाको विघटन गरिएको जनाउँदै संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।