प्रश्नका चाङ

निष्ठा नैतिकता आयु किनी किन्न सकिन्छ र ?
लालसा-लोभको भाँडो कहिले पो भरिन्छ र ?
दम्भले ढाकिए चित्त चेतना खुल्न सक्छ र ?
समस्याबाट भागेर के गन्तव्य चुमिन्छ र ?
नभोगी चोटको पीडा शिला के मूर्ति बन्छ र ?
सलेदो नजली आफैँ उज्यालो छर्न सक्छ र ?
नहिँडी दूरयात्रामा नदी के सिन्धु भेट्छ र ?
विना सङ्घर्षको स्वप्न फलीभूत कहाँ छ र ?
नरेटिइकनै आफैँ सारङ्गी बज्न सक्छ र ?
नघोटी जिन्दगी आफ्नै कूची के रङ्ग भर्छ र ?
चलोस् जत्रै हुरी आँधी शैल हारेर ढल्छ र ?
हत्केलाले कहाँ सूर्य छेकी छेक्न सकिन्छ र ?
लगाई झूटको पर्दा सत्य छेक्न सकिन्छ र ?
दीप्तिमान् सूर्यका सामु अँध्यारो टिक्न सक्छ र ?
बोकेको श्वानले कैल्यै मिर्गलाई लखेट्छ र ?
भोको होस् जति नै किन्तु के बाघ घाँस खान्छ र?
बलिदानविना क्रान्ति कहाँ सम्भव हुन्छ र ?
नकुहीकन नै बोक्रा बीज के उम्रिहाल्छ र ?
रोपेर विषको वृक्ष कतै अमृत फल्छ र ?
कहाँ राखी म यी प्रश्न पाउँला ट्वाक्क उत्तर ?