गाली

कोरोना परिवेषमा दिनदिनै आएर तर्साउँछ
कोही धाक दिँदै गफै गफ गरी उन्माद बर्साउँछ
चारैतर्फ छ भद्रगोल मुलुकै चिल्ने अरिङ्गाल छन्
वाग्देवी ! अझ मेचमा कति सयौँ खाने महाकाल छन्
गालीको प्रस्ताव
देऊ शब्दहरू सरस्वति ! तिमी हौ शब्दकी स्वामिनी
गाली आज गरूँ म दुर्जनहरू यस्ता र उस्ता भनी
फाली भाव तितो विरेचन गरूँ यी पूयगन्धी कुरा
तिम्रो मद्दतबाट फेरि मन यो होला सफा उर्वरा
गाली
कस्तो हालतमा छ देश अहिले थाहा नपाएसरि
पापी ! घृण्य ! गँवार ! नीच ! थुतुनो खोल्छौ गिज्याएसरि
जाओ खुर्मुरिँदै निकृष्ट भतुवा.! खोल्सातिरै जाकिन ?
त्यस्ता ठाउँ बने कि वा मुलुकका घातीहरू राखिन !
कस्ता छन् भन अस्पताल अहिले खाँचो छ केको त्यहाँ
उफ्रन्छौ र बिभिण्डिएर यसरी बोल्दै रहन्छौ यहाँ
जाओ अन्मरिँदै विशर्म नकटा ! खौलातिरै जाकिन.
त्यस्ता खोँच बने कि शायद खुराफातीहरू राखिन !
हाहाकार छ देशमा तर तिमी हे नीच उच्छृङ्खल !
लज्जाहीन भई अझै गरिरह्यौ खोक्रा कुरा केवल !
जाओ लर्बरिँदै कपूत छिचरा ! खाल्डातिरै जाकिन
त्यस्ता लोक बने दलाल दलका ताँतीहरू राखिन !
छैनन् औषधि नै न अक्सिजनको चाँजो मिलायौ रति
पाशा मात्र समाउने शकुनिको चाला लियौ दुर्मति
जाओ भन्भनिँदै कुबुद्धि कचडा ! रछ्यानमा जाकिन
त्यस्ता चीज बने कि वर्जित कुरा थातीहरू राखिन !
अन्त्यमा
मेरो चित्त सफा भयो भगवती निर्धक्क गाली गरी
नेपाली अनुहारका असुरमा मुक्का दिएँ बेसरी
आउन्नन् निज कर्ममा यदि भने निर्मूल होऊन् खल
मेरो उग्र सरापबाट यिनको जाओस् लगौँटी तल