बामदेव एता जाउँ भन्छ उता जाउँ भन्छ केराको पातैलेको अवस्थामा

काठमाडौं । नेकपा एमाले विभाजित अवस्थामा पुगेपछि पनि नेता बामदेव गौतम भने यता जाउँ कि उता जाउँको अवस्थामा छन् । उनको यो अवस्थालाई  एता जाउँ भन्छ उता जाउँ भन्छ केराको पातैले न यता जानू न उता जानु छोरीको जातैले नि आमा छोरीको जातैले भन्ने गीतको याद दिलाइरहेको छ ।  उनले अझै  आफू कुन  पक्षमा जान चाहेको खुलाएका छैनन् । उनको कुनै पनि कित्तालाई  समर्थन र विरोध झल्किएको छैन । उनी खुल्नै चाहेका पनि छैनन् । विगतका दिनमा बामदेव गाैतम प्रधानमन्त्री बन्नको लागि कहिले ओलीको दरवार त कहिले प्रचण्ड दरबार धाएका थिए । उनकै कारण एमालेको अहिलेको अवस्था आएको पनि एमालेका नेताहरू बताउँछन् ।

गौतमको नाम आज अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल समूहले निकालेको वक्तव्यमा  छैन । एमालेको नवौं महाधिवेशनबाट चयन भएका स्थायी कमिटी सदस्यहरु १५ जनाको नाम वक्तव्यमा रहे पनि गौतमको नाम त्यसमा अटाएको छैन । उता गौतममाथि ओलीले कारबाही पनि गरेका छैनन् ।  गौतम कुनै कित्तामा पनि रहेका छैनन् । उनी एकताको कुरा गरिरहेका छन् । जो हाल कुनै पनि अवस्थामा सम्भव छैन । गौतमको मौनतालाई अर्थपूर्ण मानिए पनि उनी माधव नेपालसँग  भने नियमित सम्पर्कमा रहेको स्राेतको दाबी छ । सर्वोच्च अदालतको आदेशले प्रतिनिधि सभा पुनःस्थापना हुनेमा भने गौतम  विश्वस्त रहेको बताइएको छ । गाैतम यो अवस्थामा कता जाउँ कता जाउँ भन्ने दोमनमा रहेका छन् ।