संसद् विघटनले मर्माहत बनाएको छ : सभामुख सापकोटा

काठमाडौं।  प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनले निकै ठूलो मर्माहत पारेको बताएका छन् ।  उनले राष्ट्रपति र प्रधानमन्त्री जन्माउने संसदमाथि अवमूल्यन भएको पनि जिकीर गरेका छन् । त्यसैगरी सापकोटाले  संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको पनि बताएका छन्। उनले छलफलपछि संचारकर्मीसँग भने  ‘बजेट अधिवेशन सञ्चालन गर्ने तयारी गरिरहेका बेला संसद् विघटन भएको छ। यो सर्वथा बेठिक काम भएको छ।’   उनले थपे  ‘संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न पनि म तयार छु । ’

‘संविधानको पालना र रक्षा गर्ने कामको शुरुवात राष्ट्रपतिबाट हुनुपर्छ। त्यसपछि प्रधानमन्त्री, सभामुख सबैको हो। हामी नै अनुशासित नहुँदा त्यसले उपलब्धि नै गुम्ने खतरा हुन्छ,’ उनले भने। राष्ट्रिय रुपमा पनि अब हामीले सोच्नुपर्ने बेला आएको र त्यसका लागि सबै तयार रहनुपर्ने पनि उनको तर्क छ ।